अन्तत: बेलायत ईयूबाट बाहिरियो

जनमत संग्रहले कन्जरभेटिभ पार्टीलाई झड्का, डेभिडले गरे पद छाड्ने घाेषणा

काठमाडाैं, १० असार । बेलायत अन्ततः युरोपियन युनियन (ईयू)बाट बाहिरिएको छ । विहीबार भएको जनमत संग्रहमा ईयूलाई छाड्ने पक्षमा ५१ दशमलव ९ प्रतिशत अर्थात १ करोड ७४ लाख १० हजार ७ सय ४२ मत खस्यो भने ईयूबाट बाहिरिन नहुने पक्षमा ४८.१ प्रतिशत अर्थात १ करोड ६१ लाख ४१ हजार २ सय ४१ मत खस्यो ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरन तथा कन्जरभेटिम पार्टी ईयूलाई छाड्न नहुने पक्षमा थिए । जनमत संग्रहको यो नतिजासँगै डेभिड र कन्जरभेटिभ पार्टीलाई नराम्रो धक्का लागेको छ ।

निर्वाचन आयोगका अनुसार बेलायत यूरोपियन युनियन संघमा रहने नरहने फैसला गर्न भएको जनमत संग्रहमा ४ करोड ६४ लाख ९९ हजार ५ सय ३७ जनाको मतदाता नामावली थियो । बेलायती समयअनुसार विहान सातबजेदेखि राती १० बजेसम्म गरिएको थियो । बेलायतको इतिहासमा योे तेस्रो पटक राष्ट्रिय जनमत संग्रह गरिएको हो ।

यो जनमत संग्रह भन्दा अघि बेलायत युरोपीय संघमा रहने वा अलग हुने मुद्दामा चार महिनासम्म अभियान चलाइएको थियो ।

सन् २००८ देखि बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको थियो । सन् २००८ मा ग्रेट ब्रिटेनको अर्थव्यवस्था मन्दीको चपेटामा परेपछि बेरोजगारी बढेको थियो ।

आर्थिक मन्दीका कारण बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न शुरु भएको थियो ।
बेलायतले प्रत्येक वर्ष युरोपियन युनियनको बजेटका लागि ९ अर्ब डलर दिँदै आएको छ । ईयूबाट बाहिरिएपछि उक्त रकम दिनु पर्दैन । बेलायत र ईयू आवतजावतमा समेत छुट भएका कारण बेलायतले नोक्सान बेहोर्दै आएको छ ।

क्यामरनको राजिनामा

आफ्नो मतको विपक्षमा बहुमत आएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले बेलायतको प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् ।

बेलायतमा युरोपेली संघमा रहने कि बाहिरिने भन्नेबारे भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नपर्ने पक्षमा बढी मत प्राप्त भएपछि बेलायती प्रधानमन्त्री क्यामरनले देशले नयाँ लिडर खोजेको भन्दै प्रधानमन्त्री पदबाट राजिनामा दिएका हुन ।

हाल सम्म सार्वजानिक भएको परिणाम अनुसार इयुबाट बाहिरिने पक्षमा ५२ प्रतिशत मतदान भएको छ भने ईयुमै आवद्ध भएर बस्नु पर्छ भन्नेमा ४८ प्रतिशत मत प्राप्त भएको छ । यो परिणाम सँगै ब्रिटेन ईयुबाट बाहिरिने लगभग पक्का भएको छ । तर यो प्रक्रिया पूरा हुन भने अझै दुई वर्ष लाग्ने जनाइएको छ ।

अन्तिम परिणाम सार्वजानिक हुने वित्तिकै उक्त परिणामलाई स्विकार्ने र महान बेलायती जनतालाई सँधै सम्मान गर्ने धारणा क्यामरनले व्यक्त गरेका थिए । प्रधानमन्त्री क्यामरुन युरोपेली संघबाट ब्रिटेन अलग हुन नहुने पक्षमा उभिएका थिए ।
- खबरडबली