एजेन्सी, पेरिस, १२ असार । पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियालाई १–० ले हराएर पोर्चुगलले अन्तिम ८ मा स्थान बनाएको हो ।
समूह चरणमा स्पेनलाई हराएर सनसनी मच्चाएको क्रोएसिया भने अन्तिम १६ बाटै घर फर्किएको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
थप गरिएको समयको अन्तिम तीन मिनेट बाँकी हुँदासम्म खेल गोलरहित बराबरीकै अवस्थामा थियो । तर एक सय १७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको पासमा रिकार्डो कोरेज्माले गोल गर्दै पोर्चुगललाई १–० को जित दिलाए ।
समूह चरणमा एक खेल पनि नजितेको पोर्चुगलको यो प्रतियोगितमा पहिलो जित हो । क्रोएसियाका डोमागोज भिडा र मार्सेलो ब्रोजोभिवले हेडमार्फत गोल गर्न गरेको प्रयास असफल भएको थियो ।
इभान पेरिसिकको प्रहार बारमा लागेर फर्किएको थियो । लेन्समा भएको यो खेल निकै निराशाजनक थियो । एक सय १७ औं मिनेटमा गोल हुनुभन्दा अघिसम्म दुवै तर्फबाट गोलका लागि राम्रो प्रयास वा पोस्ट प्रहार भएको थिएन ।
दुवै तर्फबाट गरी ४० फउल भएको खेलमा पहिलो हाफमा १८ फउल भएको थियो । दुवै तर्फको डिफेन्सका कारण ला लिगाका नायक रोनाल्डो तथा क्रोएसियाका लुका मोड्रिक र इभान रेकिटिकले बलमा नियन्त्रण पाउन ठूलो संघर्ष गर्नु परेको थियो ।
रोनाल्डो अरु खेलमाभन्दा यो खेलमा तुलनात्मक रुपमा निराश देखिएका थिए । कोरेज्मालाई विजयी गोल गर्न सहयोग गरे पनि रोनाल्डोले खेल अवधिभर मात्रै ३३ पास गरेका थिए ।
क्रोएसियाले १७ पटक बल प्रहार गरे पनि एउटा पनि लक्ष्य वा त्यसको आसपास पुगेका थिएनन् । पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्डसँग खेल्नेछ । पोल्याण्ड शनिबार बेलुका भएको खेलमा स्वीट्जरल्याण्डलाई टाईब्रेकरमा ५–४ ले हराएर अन्तिम ८ मा पुगेको छ ।
– दैनिक नेपाल