ब्रिटेन युरोपेली संघबाट अलग हुने बीबीसीको अनुमान

ब्रिटेनमा भएको जनमत संग्रहमा युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षले ५२ प्रतिशत मत ल्याउने देखिएको छ भने इयुमै आवद्ध रहनुपर्ने पक्षले ४८ प्रतिशत मत पाउने बीबीसीले अनुमान गरेको छ।

लण्डन र स्कटलण्डले इयुमा नै रहने पक्षमा दह्रो समर्थन गरे पनि उत्तरी ब्रिटेनमा इयुमा नै रहनुपर्ने पक्षले कमजोर प्रदर्शन गरेको छ।

वेल्स र इंग्लिश सहरका मतदाताहरुले इयुबाट अलग हुनुपर्ने पक्षमा ठूलो संख्यामा मत दिएका छन्।

बजारले उक्त परिणामबारे प्रतिक्रिया दिन थालेपछि पाउन्डको मूल्य डलरको तुलनामा सन् १९८५ यताकै तल्लो बिन्दुमा खसेको छ।

जनमतसंग्रहमा मतादाताको उपस्थिति अघिल्लो वर्षको आम चुनावमा भन्दा बढी रहेको थियो।

लेबरका छायाँ अर्थमन्त्री जन मकडोनलले पाउण्डको मूल्यमा आएको गिरावट रोक्न बैङ्क अफ इंग्लण्डले हस्तक्षेप गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

२० वर्षदेखि इयुबाट अलग हुनुपर्ने पक्षमा अभियान चलाइरहेका युकेआइपीका नेता नाइजल फराजले समर्थकहरुलाई सम्बोधन गर्दै भनेका छन्, “यो साधारण र सभ्य जनताहरुको विजय हो।”
- बीबीसी नेपाली