‘छोराको लाश आउँदा पनि खुसी बन्नुपर्ने देश भयो नेपाल’

काठमाडौं, साउन २२। ‘कहर : वैदेशिक रोजगारीले विथोलिँदो समाज’ छापाखानामा छापिँदै थियो ।

दुई साताअघि थापाथलीस्थित एक क्याफेमा कुराकानी गरिरहँदा पत्रकार तथा लेखक जनकराज सापकोटाले आफ्नो यो दोस्रो गैह्र–आख्यान कृतिको दुइटा प्रचारात्मक ‘बुकमार्क’ उपहारस्वरुप दिए ।

झन्डै १० सेन्टिमिटर लामो बुकमार्कको देब्रेतिर ठिंग उभिएको किताबको कभरले भन्दा दाहिनेतिर लमतन्न पसारिएको यस्तो व्यहोराको तथ्यांकले ध्यान तान्यो।

आर्थिक वर्ष–२०७२/७३

११५०६९८ तन्नेरी–वैदेशिक रोजगारमा

७५०–वैदेशिक रोजगारीका क्रममा मृत्यु

१२०–वैदेशिक रोजगारीका क्रममा अंगभंग

स्रोतः वैदेशिक रोजगार विभाग/वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड (जेठ मसान्तसम्म)

बुकमार्क दिनुअघि जनक किताबका पात्र र समाजबारे बोल्दै वैदेशिक रोजगार सम्बन्धि राज्यका कमजोर संयन्त्रबारे अनेक खोट केलाइरहेका थिए।

उनी भन्दै थिए, ‘राज्यलाई अंकको कुरा मात्र थाहा छ। जनताका कति छोराछोरी विदेश जान्छन्, कति मर्छन्, देशले वार्षिक रेमिट्यान्स भित्र्याउँछ? त्यो पनि वैधानिक रुपमा विदेश गएकाको मात्र। त्यसैले राज्यलाई अंकको कुरा पनि अपुरो मात्र थाहा छ।’

बुकमार्कको देब्रेतिरको यो तथ्यांकको संकेत यही रहेछ ?

जनकले थपिहाले, ‘सरकारलाई त्यो भन्दा बढी यो कुरा थाहा छ, जनताको घर–घरमा टेलिभिजन पुगेको छ। विदेश गएका अधिकांश बाबुआमाका छोराछोरीले पहिलेभन्दा अलि मीठो खान पाएका छन्। बोर्डिङ जान थालेका छन्। तर, यति जनता मर्यो भनेर गन्न जान्ने सरकारलाई त्यति जना नै बुहारी बिधवा बन्छन्, त्यति नै छोराछोरी टुहुरा बन्छन् भन्ने थाहा छैन। आफू मर्ने बेलासम्म छोरो आइपुग्ला भनेर कुरेर बसिरहेका बुढा बाबुआमा कसरी दिन कटाउँदै छन् भन्ने बुझ्दैन।

अब पुस्तकको कभरको कुरा गरौं।

घाँटीदेखि माथि टाउकोसम्मै सेतो टालोले बाँधिएको छ। दुई हातमा एक पुरुषको नागरिकता देखाइरहेकी महिला हुन्, लमजुङकी दुर्मती गुरुङ। त्यो नागरिकता हो, उनका श्रीमान् मीनबहादुर गुरुङको।

वैदेशिक रोजगारका क्रममा साउदी अरब गएका मीनको दुई वर्षअघि उतै मृत्यु भयो। दुर्मती विधवा बनिन्। उनका छोराछोरी टुहुरा भए।

कलाकार हितमान गुरुङले तयार पारेको कभरले भन्न खोजेको रहेछ, वैदेशिक रोजगारीका कारण पिल्सिएका दुर्मतीजस्ता आमा/श्रीमती/बुहारी हजारौं छन्, जुन कहरको कथा सरकारलाई थाहा छैन।

प्रत्यक्ष होस् या अप्रत्यक्ष, वैदेशिक रोजगारीबाट नछोइएको नेपाली कोही छैन।

जनक भन्छन्, ‘बाटोमा हिँडिरहेको जो कोहीसँग चिनजान गर्दै कुरा कोट्याउन थाल्ने हो भने उसको कोही न कोही विदेश पक्कै गएको हुन्छ। जसमध्ये अधिकांशसँग दुःखका कथा हुन्छन्।’

जनक आफैंसँग पनि वैदेशिक रोजगारीले निम्त्याएको तीन पुस्ते दुःखको कथा छ। वैदेशिक रोजगार शब्द सुन्नेबित्तिकै उनको दिमागमा सबैभन्दा पहिले अनुहार देख्नै नपाई स्वर्गे भएका साइँला हजुरबाको चित्र आउँदो रहेछ।


सानै छँदा उनका हजुरबा कथा सुनाउँथे, ‘एकादेशको होइन, आफैंले देखेको, आफ्नै रगत र पसिनाले लेखेको।’

जनक चनाखो भएर सुनिरहेका हुन्थे।

हजुरबा अनुहार र शरीरको हाउभाउमा कथा हाल्थे, ‘तेतिबेलाको बेलै तेस्तो।’

‘कस्तो बेला हजुरबा?’

‘दुख्खको बेला’

जनकका हजुरबाको साइँलो भाइ दण्डपाणी सापकोटा १५ वर्षको छँदा बाग्लुङ जिल्लास्थित आफ्नो गाउँमा गल्लावाल आए। सापकोटाले गल्लावालबाट ‘मेल्टरी’ (सेना)को जागिरको सपना देखे। बाहुनले भर्ती हुन पाउँथेन। यसपछि दण्डपाणी सापकोटा डम्बरबहादुर खत्री बने।

भर्खर–भर्खर आफूभन्दा दुई वर्ष कान्छी किशोरीसँग बिहे गरेका सापकोटा बुटवल हुँदै भारतको नौतनवा पुगे र सेनामा भर्ती भए।

यसरी कथा सुनिरहँदा जनकलाई कथा भनिरहेका हजुरबा दुरुस्तै सेनाजस्तै लाग्थ्यो। किनकि, यतिबेला हजुरबा मुखबाट होइन शरीरबाट समेत कथा भनिरहेका हुन्थे।

करिब दुई महिनामा काँचो धागोले बाँधिएको चिठ्ठी आयो। अर्थात् डम्बरबहादुर खत्रीले वीरगति प्राप्त गरेछन्।

कहाँ, के, कसरी, किन?

त्यसको उत्तर भने कसैले पाएन।

हजुरआमा कलिलै उमेरमा विधवा बनिन्। उनलाई पेन्सन आउन थाल्यो। जुन पेन्सन  जनकका हजुरबाले ल्याइदिने गर्थे।

‘कामै नगर्ने हजुरआमालाई यसरी पैसाचाहीँ कसले पठाउने रै’छ?,’ जनक सोध्थे।

हजुरआमा भन्थिन्, ‘स्वर्गबाट।’

जनकलाई पनि स्वर्ग जान रहर लाग्थ्यो।

हजुरबा पुस्तापछि जनकका बाबु पुस्ता पनि वैदेशिक रोजगारबाट ‘चोखो’ भएर रहन सकेन। उनका बाबुले पनि करिब १५ वर्ष भारतमा बिताएका रहेछन्।

पालो आयो जनकको पुस्ताको।
जनकलाई सिधै भन्न नसकेर उनका मामा बाबुसँग पहिले–पहिले भन्ने गर्थे, ‘भान्जालाई के देशमा राखि’रा?’

विदेश गएर पैसा कमाएका एकाधको उदाहरण दिँदै मामा थप्थे, ‘यसो दुई–चार पैसा कमाउन पर्यो नि उमेर छँदा।’

तर, जनकलाई सानै उमेरमा कलाकारिताले लठ्याइसकेको थियो। चित्रकला पढ्न काठमाडौं आएका उनी पत्रकारितामै व्यस्त भए। देशका कुनाकाप्चा घुम्नु उनको रुची बन्यो। पत्रकारिता र देश घुम्ने रुचीले जनकले मनभित्रै सम्झौता गरे। उनी घुम्ने र लेख्ने दुनियाँमै हराए।

‘म पनि यदि पत्रकारितामा रमाउन नसकेको भए यतिबेला विदेशमै हुन्थेँ हुँला,’ जनकले भने।

जनकसँग हुर्किएका सबै साथी विदेश छन्। छरछिमेकदेखि आफन्त र कोही न कोही वैदेशिक रोजगारीमा छन्, त्यसैले गाउँ जाँदा होस् या सामाजिक सञ्जाल, फोनमा कुरा हुँदा कतै न कतैबाट वैदेशिक रोजगारीका प्रसंग उप्किहाल्छन्।

बासँग फोनमा कुरा हुँदा गाउँमा कसैको बिहेको खबर सुनिन्छ।

बाले भन्दा रहेछन्, ‘फलानोको छोरा÷छोरीको बिहे हुने भयो। भयो।’

जनक चासो राख्छन्, ‘कहाँको केटा÷केटी।’

बाले पर–पर जिल्लाको नाम लिँदै भन्छन्, ‘केटो विदेश बस्दो रहेछ। फेसबुक÷फोनबाट लभ परेको रे।’

बाको उत्तर सुन्दा उनलाई एकछिन त रमाइलो लाग्दो रहेछ। पछि मनमा प्रश्न उब्जिन्छ, ‘वैदेशिक रोजगारीले कहाँ–कहाँ चाहिँ छोडेको छैन?’

किशोर उमेरमै पत्रकारिता सुरू गरेर मधेस हुँदै वैदेशिक रोजगारीको रिपोर्टिङको अनुभव लिएपछि उनले पत्ता लगाए, वैदेशिक रोजगारीले नछोएको कहीँ छैन। सकारात्मक कुराभन्दा धेरै बिगार गरेको छ। सरकारले वार्षिक यति रेमिट्यान्स भित्रन्छ भनेर गर्व गर्छ तर उसलाई समाज भित्र–भित्र बिथोलिँदैछ भन्ने थाहा छैन।

जसरी करिब ८० वर्षअघि उनका हजुरबाजस्तै कैयौं हजुरबाका आफन्तले भोगेको वैदेशिक रोजगारीको कहरले अहिले झनै उग्र रुप लिएको छ। सानैमा हजुरबाले सुनाएको कथा त्यतिबेला रमाइलो लागे पनि पछि बुझ्दै जाँदा उनको मनमा प्रश्न उब्जिँदै गएको थियो।

भारतीय सेनामा खटिएको सुने पनि उनका साइँला हजुरबा कहिले, कहाँ, कसरीजस्ता प्रश्नको उत्तर नपाउँदा उनको मनमा अर्को प्रश्न उठ्थ्यो, ‘कस्तो थियो होला त्यो समाज? कस्ता थिए होलान् त्यतिबेलाका शासक, जो तन्नेरीलाई लाहुर पठाएर तिनको रगत पसिनाको कमाइले देश चलाउँथे? जीवन र मृत्युको टुंगो नभएको लडाइँमा आफ्ना सन्तान पठाउन कसरी तयार हुन्थे होलान् बा–आमा? अनि ती तन्नेरीचाहिँ कस्ता थिए होलान्, जो गरिबीबाट मुक्ति पाउन यस्तो लडाइँमा होमिन्थे?’

‘अरे! यो प्रश्न त अहिलेलाई पनि ठ्याक्कै मिल्छ त!’

‘अहिले पनि खाडी मुलुकको तालु डढाउने चर्को घाम र गर्मीमा काम गरेर बदलामा मृत्यु पाइरहेका छन्। तर, तिनका आफन्तले कहाँ, के, कसरीजस्ता प्रश्नको सहज उत्तर पाउँदैनन्।’

जनकले केही वर्षअघि आफ्ना साइँला हजुरबुवाकहाँ, कसरी, किन मारिए भनेर भारतीय दूतावासमा निवेदन दिएका थिए। थुप्रैपटक दूतावास धाउँदा पनि उनले यो प्रश्नको उत्तर पाएनन्।

‘हो, यसरी नै खाडीमा मरेका कामदारका आफन्तले उत्तर पाउन सकेका छैनन्।’

‘सय वर्षभन्दा पुरानो यो कहर कहिले रोकिन्छ?’

उनी यो प्रश्न बोकेर किताब लेख्न कस्सिए। पहिलो कृति ‘जीवन कतिपय’ भन्दा अघि नै अनुसन्धानको काम थाले पनि अनुसन्धानमा लामो समय लागेकाले कहर दोस्रो कृति बन्न पुग्यो।

प्रकाशक ‘वी रिड’ले केही अनुसन्धान खर्च व्यहोरिदिने भएपछि उनी पहाडदेखि तराईका १५ जिल्ला घुमे, वैदेशिक रोजगारीका दुःखका कथा टिप्न। काठमाडौंमै छँदा पनि उनी वैदेशिक रोजगारीका कथाबाट अलग हुन सक्थेनन्।

उनी जति ठाउँ पुगे, त्यहाँ भेटिएका कथा एउटा लेखकका लागि ‘इन्ट्रेस्टिङ स्टोरी’ हुन्छ, सायद। तर, त्यहाँ वैदेशिक रोजगारीसँग जोडिएका पात्रका यति दर्दनाक कथाका पात्र भेटिन्थ्यो कि, कति पटक त गफ गरिरहेको मानिससँगै आफैं भक्कानिएको जनक बताउँछन्।

‘विदेश गएको छोराको अत्तोपत्तो नभएको, मरेको कुरा गर्दा नरुने त कमै हुन्थे,’ जनकले भने, ‘कतिपटक त म दुःखको कथा सुन्न गाह्रो भएर त्यतिकै छोडेर हिँडेको छु।’

उनलाई सबैभन्दा गाह्रो चाहिँ यो कुरामा भयो, छोरोको लाश आउँदा खुसी हुनुपर्ने देश पो भएछ नेपाल त! 

‘महिनौंअघि विदेशमा मरेको छोरोको लास बुझ्न नपाएर थप पीडामा बस्नुपर्ने धेरै छन्। ‘मेरो मान्छेको लास त छिट्टै आयो’ भनेर खुसी हुनुपर्ने देश नेपाल मात्र होला,’ उनी भन्छन्। 

‘म राति बढी खुसी हुन्छु, किनकि सपनामा विदेशमा हुनुभएको बाबाममीलाई देख्न पाइन्छ’ भन्ने बालबालिका, विदेशमा बाबुको मृत्यु भएपछि मृतकको नाबालक छोरालाई समाजले ब्रतबन्ध भनेर किरिया गराएको, लाश नआएपछि कुशलाई लास मानेर श्राद्ध गर्नुपरेको, विदेशबाट धेरै लाश आउने भएकाले बाटोको नामै ‘कफिन हिँड्ने बाटो’ रहन गएको, विदेशमा मृत्यु भएकी आमाको नाबालक छोरालाई आमा जेलमा छिन् भनेर ढाँटेकोजस्ता कुरा सुन्दा उनको मनमा कताकता अर्कैखाले हुन्डरी चल्थ्यो।


किताबको अनुसन्धानकै क्रममा उनी विदेशमा मृत्यु भएका गोरखाका एक व्यक्तिको आफन्तसँगै शव बाहनमा एयरपोर्टदेखि गोरखा जाँदै थिए। जनक बसेको सिटको ठ्याक्कै पछाडि लाश थियो। उनको आँखा घरि लाशमा पथ्र्यो, घरि झ्यालबाहिर। बाटोका भित्तामा यस्ता नारा लेखिएका हुन्थे, ‘हरेक युवालाई रोजगार’, ‘युवालाई रोजगार’, ‘विकासको लहर’, ‘युवा उठौं, देश बनाऔं।’


जनक मृतकका आफन्तसँगै लाश जलाउने घाट पुग्दा त जम्मा १८ जना बृद्ध मात्र आएका रहेछन्। जनकले सोध्दा उत्तर आयो, ‘ठिटाहरू कहाँ गाउँमा छन् र बाबु सबै विदेशमा पो छन् त।’ उनलाई नेपालको यस्तो यथार्थ अवस्था एकातिर तर राजनीति ठ्याक्कै विपरीत लयमा बगिरहेको देख्दा सबैभन्दा नरमाइलो लाग्यो। 

जनकको दिमागमा झ्वाट्ट भित्तामा रातो अक्षरले लेखिएका नारा सल्बलाउन थाले।

यी त भए प्रतिनिधि घटना।

उनले आफूसँग जोडेर तयार पारेका आठवटा निबन्धले ‘सरकारलाई थाहा नभएको’ यस्ता दुःखका थुप्रै कहानी बोल्छन्। बाँकी एउटा निबन्धले भने तथ्यांक पेश गर्छ, जुन सरकारलाई पनि थाहा छ!


चरम दुःखका कथा भएकाले जनक आफैंलाई भने मान्छेले नपत्याइदेलान् कि शंका पनि लागेको रहेछ। त्यसको उपाय पनि उनी आफैंले निकालेका छन् डकुमेन्ट्री बनाएर। किताबका प्रतिनिधि पात्रलाई समेटेर बनाएको नौ मिनेट लामो डकुमेन्ट्री हेरिसकेपछि मात्र किताब पढ्न उनको आग्रह छ।
अनि यस्तो दुःखको मात्र कहानी किन त?

‘हो, यो प्रश्न पक्कै आउँछ भन्ने लागेको थियो,’ जनक भन्छन्, ‘अझ धेरैले त दुःखको कहानी बेचेको पनि भन्लान्। मेरो भन्नु यति छ, खुसी बाँडे दोब्बर, दुःख बाँडे मन हलुङ्गो।’

- सेतोपाटी