मिडियामा विप्लव परिवारको चर्चा

पुष्प न्यौपाने, दुई दिने शैक्षिक हड्तालमा नेकपा माओबादीका महासचिव नेत्र बिक्रम चन्द विप्लव पुत्र प्रकाश र अखिल क्रान्तीकारीको शैक्षिक हड्ताललाई लिएर मिडियामा स्वस्थ, अस्वस्थ बहसहरु भए । ति बहसहरु स्वभाविक हुन् । बिप्लव नेपाली राजनीतिको एन्टी करेन्ट धाराका चर्चित पात्र भएकाले उनका नकरात्मक पक्ष कोट्याउन पाए मिडिया कन्टेन अलि बढी बिक्रि हुन्छ । संसारका सबै बस्तुहरु बजारमै निर्भर छन् र मिडिया पनि बजार भन्दा बाहिर कसरी रहन सक्छ ?

त्यसकारण बजारलाई मध्यनजर गर्दै मिडियाले आफ्ना बिषयहरु खरिद बिक्रि गर्नुलाई उपभोक्ताबादी समाज र बस्तु निर्यातकहरु बीचको स्वभाविक इन्ट्रेष्ट भन्दा धेरै पृथक ढंगले लिन जरुरी छैन । प्रतिबर्ष एम. बि. बि. एस पढ्ने २ हजार बिद्यार्थिका संयुक्त समस्या,एम. बि. बि. एस. का लागि मुलुकबाट बाहिरिने बिद्यार्थिको ठूलो जमात र मेडिकल कलेज भित्र हुने शुल्क देखि भौतिक संरचना र गुणस्तरका बिषयभन्दा बिप्लव पुत्र प्रकाशबारे लेख्दा मिडिया कन्टेन धेरै बिक्रि हुने भएपछि त्यहि किन नलेख्ने ? आखिर कन्टेन जति लार्ज स्केलमा बेच्न सकियो सफलता त्यहि हो ।

प्रकाशसंग स्तम्भकारको पहिलो भेट्

यस स्तम्भकारको बिप्लव पुत्र प्रकाशसंग पहिलो भेट कैलालीको अत्तरियामा भएको थियो । आज भन्दा एक दशक अघिको कुरा हो सायद प्रकाश ८, ९ कक्षामा पढ्थे । सरकारी स्कुल पढ्दै गरेका प्रकाश बाबा आमालाई भेट्न अत्तरिया पुगेका थिए । साथमा बहिनी सञ्जु पनि थिइन । गर्मिको याम थियो कैलालीमा, तातो हावा खप्नै मुस्किल । बिप्लव पत्नि पार्टीका नेता लेखराज भट्टको खेतमा जान्थिन् र कहिलेकाँही वरिपरिका जनताको खेतमा गएर पनि गहुँ काट्न सहयोग गर्थिन उनि ।

भेट्न गएका छोराछोरी दुईटैलाई खासै समय दिन भ्याँउदैनथे बिप्लव र विप्लव पत्निले । त्यहि क्रममा छोरा प्रकाश हामी कहाँ आउँथे । अरुको कुरा सुन्न निकै रुची राख्थे उनि । तिक्ष्ण बुद्धिका प्रकाश पढ्न लेख्न ट्यालेन्ट छन् कुरा थाह भयो । उनले बिज्ञान र गणितमा आफ्नो रुचीको कुरा सुनाए । यस स्तम्भकारले सोध्यो भबिष्यमा के बन्ने लक्ष बोकेर पढ्दै छौ त ?

प्रकाशले जनमुक्ति सेनाको कमाण्डर बन्ने र हतियार सिक्ने जवाफ दिए । सायद बाबाले बोक्ने हतियारको प्रभाव थियो त्यो । स्तम्भकारले भन्यो शान्ती प्रकृया सुरु शुरु हुँदै छ सैन्य बिज्ञान पढ्न भनन त बाबालाई । प्रकाशले जिज्ञासा राखे सैन्य बिज्ञानमा के हुन्छ दाई ? स्तम्भकारले भन्यो संसारमा आज पनि सैन्य बिज्ञान महत्वपूर्ण छ ।

जीत र हारको प्रकृया रहेसम्म युद्धहरु रहिरहन्छन् र युद्धहरु रहेसम्म सैन्य बिज्ञान युद्धरत र अझ खासगरि बिजेताहरुको लागि अपरिहार्य अस्त्र हो । तिमि समय र सामाग्रि पाए नेपोलियन, हिटलर र स्टालिनका युद्ध कौशलहरु पढ्नु । समयले प्रकाशलाई कहाँ र कुन स्थानमा पुर्याउने हो त्यसको भविष्यबाणी त गर्न सकिन्न तर ८, ९ कक्षामा पढ्दा संसार जित्नुपर्छ भन्ने सोचको त्यो किशोर भारतबर्षमा गएका ३, ४ सय बर्षका बीच भएका ठूल ठूला लडाईमा भागलिने राजकुमारहरु जस्तै महत्वाकाँक्षी स्वभावको थियो ।

सैन्य बिज्ञान पढ्ने चाहना पुरा भएन प्रकाशको

एस एल सी पास पछि काठमाडौं आएको बिप्लव पुत्र प्रकाशले सुरुमै मिलिट्री साइन्स पढ्ने प्रस्ताव राखेछ बाबालाई । बिप्लवले कसले भन्यो यस्तो बिषय पढ्ने कुरा भन्दा पुष्प दाईले भनेछन प्रकाशले । मनमैजु देखि बालाजु हुँदा बराबर आवत जावत भइरहन्थ्यो उहाँको कोठामा ।
पछि बिप्लवले त्यो बिषय पढ्न नसकिने सबै कारण खुलाएछन् । बिप्लवले कोठामा जाँदा हाँस्दै स्तम्भकारलाई भने तपाईले नलाइदिनुस त सैन्य बिज्ञान पढ्ने कुरा त्यो त जिद्दि गर्छ । स्तम्भकारले दुई बर्ष अघि कैलालीमा मात्रै त्यस्तो कुरा भएको अहिले होइन भन्ने प्रतिक्रिया दियो । प्रकाशको सम्झनाबाट २ बर्ष देखि सैन्य बिज्ञानको कुरा गएको रहेनछ ।

सरकारी स्कुलदेखि सरकारी कलेजको यात्रा

ऊ राम्रो कलेजमा पढ्न चाहन्थ्यो होला तर बिप्लवले उसलाई सरकारी कलेज जो राजनीतिक अखडाका रुपमा परिचित छ अस्कल साइन्स क्याम्पस त्यसैमा भिराई दिए । अस्कल क्याम्पसमा स्वबियु निर्वाचनको रापताप उत्कर्षमा जाँदै थियो सबै बिद्यार्थि संगठनहरु मोर्चाबन्दीमै थिए ।त्यतिबेलाको जल्दोबल्दो माओबादीको भिडमा प्रकाश अस्कलमा बिद्यार्थि ग्याङ बोकेर हिड्न थाले ।
दिनहुँ लडाई अस्कलको बिशेषता झैं बन्दै थियो । प्रकाश राजनीति र बिद्यार्थि ग्याङमा सक्रिय भए र पढाइलाई पन्छाउँदै गए । अस्कलबाट आई एस सी पास पछि उनमा चे ग्वे भाराको प्रभाव वढ्यो । उनको हेयर स्टाल देख्दा खिन्न मान्न थाले बिप्लव । नजिक आँउदै नआउने, रफ स्टालमा हिड्छ भन्ने पथ्र्यो उनलाई । पार्टी कार्यकर्ता भित्र पनि प्रचण्ड पुत्र प्रकाश र बिप्लव पुत्र प्रकाशको चर्चा चल्ने गथ्र्यो ।

मेडिकल साइन्समा प्रकाशलाई बिप्लवको अवरोध

एम. बि. बि. एस का लागि एउटा मेडिकल कलेजमा नाम निकाले प्रकाशले । मेडिकल कलेजले नाम निस्केको बिद्यार्थिलाई सम्पर्क गर्यो, केहि समय पर्खियो र विप्लवको छोरा हो ऊ आर्थिक कारणले नै रोकियो भन्ने थाह पाएपछि उसले सम्पूर्ण खर्च निशुल्क हुने प्रष्टयाउँदै भर्ना हुन बोलायो । कारण आर्थिक मात्रै थिएन आफ्नो छोरालाई बिप्लवले डक्टर बनायो भन्ने आरोपको सामना गर्नुपर्छ भनेर पनि उनले प्रकाशलाई स्विकृति दिएनन् ।

त्यहि आसपास देब गुरुङ लगायत केहि माओबादी नेताका छोराछोरीहरु निशुल्क एम. बि. बि. एस. पढ्न सुरु गरे । त्यसपछि प्रकाश तनावमा परे । बिप्लवले प्रकाशको भावना नबुझ्ने प्रकाशलाई आफ्नो लक्ष पुरा गर्नै पर्ने । दुईबीचको अन्तरबिरोध बढ्यो । प्रकाश बिस्तारै नियन्त्रण बाहिर जाने संकेत देखे बिप्लवले । त्यसपछि आफैसंग राखे । बाबाको अरुसबै कुरामा प्रकाशको बिमति थिएन । केबल एम. बि. बि. एस. उसको एकसुत्रिय एजेण्डा थियो ।

प्रकाश र एम. बि. बि.एस. का रोचक प्रसङ्ग

कपाल किन लामो पालेको प्रकाश भन्ने जिज्ञासामा एक दिन उसले यस स्तम्भकारलाई भन्यो खै दाई खाली प्रश्न मात्रै गर्ने मेरो सुन्ने होइन । के हो त तिम्रो कुरा ? दाई म तपाईहरु तयार भएपछि एसाल्टमै लड्न जान्छु ,बीचैमा पढ्न छोडिदिन्छु अहिले समय छ मलाई एम. बि. बि. एस. पढ्न दिनुस भन्दा बुवाले सुन्नुहुन्न । तपाईहरु कुरा गरिदिनुन बुबालाई । प्रकाशले पढ्दा कम आलोचना र नपढ्दा पार्टीले बढी आलोचना झेल्नुपर्ने अवस्था आउन सक्छ । नियन्त्रण बाहिर गएर दाँया बाँया गर्यो भने त्यसले सदाबाहार आलोचना निम्त्याउँछ उसलाई पढ्ने बातावरण मिलाए हुन्छ भन्ने धेरै नेता कार्यकर्ताको सुझाव पुग्यो बिप्लव कहाँ ।

चीन पढ्नेमा विबाद

बिप्लवले प्रकाशलाई चीनमा एम. बि. बि. एस. पढ्न प्रस्ताव गरे ।
प्रकाशले बाबाको उच्च सम्बन्धका कारण राम्रो युनिभर्सीटीमा पढ्न पाईने सोचेछन् । उनले स्विकृतिको टाउको हल्लाउँदै हुन्छ कुन युनिभर्सीटी हो भन्दै खुशि ब्यक्त गरे । बाबाले आफ्नै खर्चमा पढ्नुपर्ने १०, १२ लाख खर्च हुने ग्वान्झाउको कुरा सुनाएपछि प्रकाशले अस्विकार गरे । १०, १२ लाखमा ग्वान्झाउ पढेर पनि कोहि डाक्टर बन्छ खै दाई वुवाले पत्याउनु भएन जस्तो छ भन्दै थिए उनि । पछि पार्टीकै साथिहरुले चितवन मेडिकल कलेजमा  मिलाईदिएछन् प्रकाश पढ्न त्यहँी गए ।

किन डाक्टर पढ्दैछन प्रकाश ?

उनि शान , आर्थिक हैसियत , डाक्टरको पेशाले राम्रो करिअर र सामाजिक प्रतिष्ठा भन्दा पनि चे ग्वे भाराको सामाजिक सेवा र क्रान्तीकारी हिरोइज्मको प्रभावमा छन् । उनले पाखुरामा चे को ट्याटु बनाएका छन् । बोल्ड पर्सनालिटी, आधुनिक हेयर स्टाइल, वरिपरि संगठन,आफ्नो हातमा कमाण्ड, बिद्यमान संरचनासंग मुकाबिला र उत्पिडितहरुको पक्षमा दृढ उभिनु उनको बिशेषता हुन् । चे ग्ववे भारा र उत्तरकोरियाली शासक किमसंग बढी प्रभावित उनि आर्थिक प्रलोभन, खुसामद र सानोतिनो कुरामा सम्झौता गर्ने खालका छैनन् । त्यसमध्य केहि गुण जेनेटिक होलान र केहि पारिवारीक बातावरण वा बाबाको अनुशरण पनि होलान् । उनका ति बिशेषताहरु अस्कल देखि चितवन मेडिकलसम्म प्रष्ट देखिन्छन् ।

एम. बि. बि. एस पढ्ने बिद्यार्थिहरु खासै राजनीतिक स्वभावका हुँदैनन् त्यो पनि हार्डलाईनर भनिने बिप्लव नेतृत्वको माओबादीलाई स्विकारेर मेडिकल कलेजका बिद्यार्थिहरु त्यति सहजै संगठित हुँदेनन् । उनले चितवन मेडिकल कलेजमा आफ्ना ब्याचि, सिनियर र जुनियरहरु राखेर मजबुत संगठन निर्माण गरेका छन् । त्यो उनको सांगठनिक खुबि हो ।

प्रकाशको दमदार तर्क अघि शब्द थिएन बिप्लवसंग

चितवन मेडिकल कलेजमा संगठन निर्माण र आन्दोलनको नेतृत्व प्रकाशले गरेपछि कलेज प्रशासन अप्ठ्यारोमा पर्यो । बिप्लवको छोरा  पढाँउदा चितवनको पार्टी र सिंगो माओबादी पार्टी नै पक्षमा रहला भन्ने प्रशासनको अपेक्षा बिपरित गतिबिधि गर्न थाले प्रकाशले । बिद्यार्थिको शुल्क निर्धारण देखि कलेज प्रशासनले हरेक कुरा पारदर्शि र नियमसंगत गर्नुपर्ने ,ब्यवहारिक समस्याको समाधान गर्नुपर्ने जस्ता माग तेर्साउन थाले उनि । कलेज प्रशासनले बिप्लव समक्ष अनुरोध गर्यो सहयोग होला भनेको झन असहयोग हुने भो त्यसलाई सम्झाई दिनु पर्यो ।

बिप्लवलाई मेडिकलकलेज बारे सबै कुरा जानकारी हुने कुरा भएन । उनले प्रकाशलाई कलेज प्रशासनको यस्तो अनुरोध छ तिमिबाट असहयोग भयो भन्ने कुरा छ के हो ? भने पछि प्रकाशले जवाफ दिए जहाँ अन्याय हुन्छ त्यहाँ प्रतिरोध हुन्छ भन्ने तपाईहरुले नै सिकाउनु भएको हैन र ? म पढें भन्दैमा मेडिकल कलेजका तमाम साथिहरुका समस्या, प्रशासनिक र आन्तरिक समस्याबारे चुपचाप बसेर सहयोग गर्न त सक्दिन म । उहाँहरुले त्रुटी सच्च्याउनुपर्छ म त आम बिद्यार्थिको पक्षमा बोल्ने अरु कुरा जान्दिन । हामीले कुनै बार्गेनिङ गर्दैनौ मात्रै सबै कुरा त्यहाँ तोकिएको नियम भित्रै हुनुपर्छ । बिप्लवले भने सकेसम्म सम्झाएरै कमि कमजोरी सच्च्याउन लगाउनु ।

छोरी सञ्जुको बिहेको चर्चा

बिप्लव पुत्रि सञ्जुको बैबाहिक सँस्कारबारे मिडियामा निकै चर्चा भयो । मानौ उनले यस युगको जल्दोबल्दो राजकुमार खोजेर तामझामका साथ डोलिमा राखेर हात्तिघोडा दाईजो दिएर लाखौं करोडौं खर्च गरि छोरिको बिहे गराए जसरी मिडियामा चर्चा भयो ।

अस्कल पढ्दा प्रकाशसंगै घर आउने केटाले सञ्जुसंग प्रेम बिवाह गर्यो । परिवारले नस्विकार्ने डरले दुबै भागेर केटाको घरमा गए त्यहाँ उनिहरुले केटाको घरको परम्परा र संस्कारपूर्वक बिहे गरे यसमा पनि बिप्लव मिडियाको निशानामै परे । त्यो पनि राम्रै हो । बेला बखत मिडियाले जब पाँउदा बिप्लव रिसाउनुपर्ने कुनै कारण छैन । लेखेकै भरमा मिडियासंग नजिक वा टाढाको दुरी बनाउने उनको स्वभाव पनि छैन र त्यो गर्नु पनि हुँदैन । तर बिप्लवका छोरा प्रकाश सरकारी स्कुलमा र एउटा छोरा एउटी छोरी दाङको शहिद बिद्यालयमा पढेको कुरा मिडियामा खासै चर्चामा आएन ।

काठमाडौ आईसकेपछि पनि कान्छो छोरा त्रिपुरेश्वर स्थित सरकारी बिद्यालय बिश्व निकेतन, छोरा प्रकाश सरकारी क्याम्पस अमृत साइन्स र छोरी सञ्जु सरकारी क्याम्पस पद्म कन्यामा पढ्थे । मिडियाकोणबाट यस्तो सकरात्मक पक्ष समाचार बन्दैन वा बनेपनि बिक्दैन । कुकुरले मानिस टोके समाचार बन्दैन मान्छेले कुकुर टोकेपछि मात्रै समाचार बन्छ भन्ने सिद्धान्त हो मिडियाको । त्यसैले विपरित कोणबाट मिडियाले जे लेख्छ त्यसमा कुनै दुख मनाउ गर्नु हुँदैन सेलिब्रेटहरुले ।