पत्नी सीता दाहालको नजरमा प्रचण्डका आनीबानी र स्वभाव
काठमाडौं, २० साउन । प्रचण्ड प्रायः पाँच बजे उठ्नुहुन्छ । बिहान उठेपछि ग्रिन टी लिनुहुन्छ । हरेक दिन बिहान टेबलटेनिस खेल्नुहुन्छ ।
पहिला युद्धकालका वेला कपाल काट्दा म पनि सँगै जान्थेँ । उहाँ हजाम भाइलाई ‘छोटो बनाइदेऊ’ भन्नुहुन्थ्यो । म छोटो बनाउन दिन्नथेँ । ‘उहाँले भनेर हुँदैन, अलिकति लामै राख’ भन्थेँ हजाम भाइलाई । मैले कराएपछि उहाँ पनि मान्नुहुन्थ्यो । कपाल छोटो बनाएको उहाँलाई राम्रो देखिँदैन । अहिले पनि छोटो बनाउनुहुन्न ।
उहाँ बिहानको खाजामा पुरी, तरकारी, दही, पराठा मन पराउनुहुन्छ । तर, सुगर र प्रेसरको समस्या छ, सकभर त्यस्तो खाजा म दिन्नँ । सुक्खा रोटी, तरकारी, दूध दिन्छु । दिउँसो प्रायः खाजा खाइन्न । खानामा चाहि दाल, भात तरकारी, हरियो रायोको साग मन पराउनुहुन्छ ।
हामी युद्धमा भएका वेला बाँडीचुँडी काम गथ्र्यौँ । उहाँ आफैँ पनि खटिनुहुन्थ्यो हरेक दिन । त्यतिवेला हामीसँगै छोरा प्रकाश पनि हेडक्वार्टरमै थियो, अरू स्टाफ थिएनन् । उसको जिम्मा पोछा लगाउने, लुगा धुने हुन्थ्यो । म खाना बनाउँथेँ र उहाँको भागमा भाँडा धुने काम थियो । प्रायः आफ्नो भागको काम आफैँ गर्नुहुन्थ्यो, कहिलेकाहीँ प्रकाशले पनि गरिदिन्थ्यो ।
युद्धको समयमा अनेक दुखका घटना भए । ती गनीसाध्य छैनन् । बाँचेर यसरी काठमाडौं आउँला भनेर कसले सोचेको थियो र ? कहिलेकाहीँ देशको अवस्था देख्दा त्यतिवेलै सहिद भएको भए हुन्थ्यो भन्ने लाग्छ ।
उहाँ गीत–संगीत र फिल्मबारे पनि रुचि राख्नुहुन्छ । कहिलेकाहीँ हेर्नुहुन्छ पनि । तर, हलमा गएर खासै हेर्नुहुन्न, घरमै टेलिभिजनमा हेर्नुहुन्छ । उहाँ नेपाली लोकगीत सुन्न मन पराउनुहुन्छ ।
उहाँ आफूले लगाउने कपडामा अत्यन्त सचेत हुनुहुन्छ । कोट, पाइन्ट, सर्ट लगाउन रुचाउनुहुन्छ ।
उहाँ अत्यन्त कम रिसाउनुहुन्छ । उहाँ त एक छिन मात्रै रिसाउनुहुन्छ । तर, त्यसलाई पनि रिसाउनेभन्दा बहस गर्ने भनौ । उहाँ बहसमा विश्वास गर्नुहुन्छ ।
उहाँलाई खुसी बनाउने भनेको देशको माहोलले हो । देशको माहोल, राजनीति सबै ठीक ठाउँमा आयो भने खुसी हुनुहुन्छ । जस्तो कि पछिल्लो समय संविधान बनेकोमा एकदमै खुसी हुनुभएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।