तीज मनाउन आएका चेली पहिरोमा पुरिए, चारजनाको मृत्यु

काठमाडौं, १९ भदौ । स्याङजाको केवँरेभञ्ज्याङ–७ उपल्लोताप्के गाउँमा तीज मनाउन आएका चेलीहरु पहिरोमा पर्दा चार जनाको मृत्यु भएको छ ।

थमनसिंह सारुमगरको घर आइतबार विहान २ बजेतिर माथिबाट खसेको पहिरोमा पुरिँदा थमनसिंहकी आमा ७८ वर्षीया चन्द्रकुमारी, माइत आएकी छोरी ३२ वर्षीय होमकुमारी मस्रङ्गी, होमकुमारीकी सात वर्षीया छोरी पुनम र १ वर्षका छोरा मीलनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको माथिल्लो कोठामा सुतेका चार जना घरमा पुरिएका थिए भने घरको अगाडिपट्टीको कोठामा सुतेका पाँच जना भने सकुशल रहेको प्रहरी नायव उपरीक्षक बीरबहादुर पुलामीले बताए । स्याङजाकै मल्याङकोट घर भएकी होमकुमारी तीज मनाउन माइत आएकी थिइन् ।

तीजकाे दर खाने दिन शनिबार देशका अधिकांश भागमा वर्षा भएकाे थियाे ।
- खबर डबली