एमाले बैठकमा ओली - गौतम चर्काचर्की

काठमाडौं, १३ असोज । माओवादी केन्द्रसँग साढे चार महिनाअघि सम्पन्न ‘भद्र सहमति’लाई लिएर एमाले केद्रीय कमिटी बैठकको समापनमा अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच चर्काचर्की भएको छ ।

वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँग भद्र सहमति भएको अभिव्यक्ति दिएपछि अध्यक्ष ओलीले खण्डन गरेका थिए । अध्यक्ष ओली बोलिरहँदा उपाध्यक्ष गौतमले बीचमै चर्को स्वरमा प्रतिवाद गरे ।

ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘जेएन खनालले भद्र सहमति भएकै हो भन्नुभो तर तपाईंहरु सबै स्पष्ट हुनुभए हुन्छ, सहमति भएकै थिएन, कहाँ भयो ? कसरी भयो ? कसले ग¥यो ? नामै किटेर ओलीले एकपछि अर्को खण्डन गर्न थालेपछि गौतमले बोल्दा बोल्दै ठूलो स्वरमा प्रतिवाद गर्नुभयो ।’

तत्कालिन ओली नेतृत्वको सरकारले बजेटपछि राजीनामा दिने र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाएर वाम सहकार्यलाई निरन्तरता दिने गरि भएको भनिएको ‘भद्र सहमति’ लाई एमाले नेताहरुले अनुकूल व्याख्या गर्दै आएका छन् ।

समापन बैठकमा पनि त्यसलाई लिएर नेताहरुको धारणामा एकरुपता नदेखिएकै काराण् चर्काचर्की भएको स्रोतको दाबी छ ।

‘तपाईं चुप लाग्नुस । तपाईले यसरी भएकै हाईन, यस्तो भाकोथ्यो, त्यस्तो भाकोथ्यो भन्ने स्पष्टीकरण दिँदै जान थाल्नेभो भने म बोल्नैपर्ने हुन्छ, म बोलेँ भने के हुन्छ ?’ गौतमको प्रतिवाद उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘हिजै केन्द्रीय कमिटी समापनमा कसैले नबोल्ने सहमति गरेपछि त नबोल्नुप¥या नि ।’

गौतमको यस्तो प्रतिवादपछि ओलीले भद्र सहमतिको ‘च्याप्टर’ नै बन्द गरेर अरु विषयमा मन्तव्य दिएका थिए ।’ आजको नयाँ पत्रिकामा खबर छ ।