योगेन्द्रमिलन छन्त्याल, लुभेन ।बेल्जियमका नेपालीहरुले काठमाण्डौ उपचार गराइरहेका मिर्गौलापीडित केरबहादुर छन्त्याललाई एक लाख पाँच हजार ६०७ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । होमबहादुर छन्त्याल र शेरबहादुर छन्त्यालको व्यक्तिगत पहल र अनुरोधमा सहयोग जुटाइएको हो ।
बेल्जियममा नेपालीहरुले स्वेच्छिक सहयोग गरेका हुन् । नेपाल रेमिटबाट रकम प्राप्त गरेपछि छन्त्यालले पैसा पाएको जानकारी गराउदै सहयोग गर्ने सबै दिदीबहिनी दाजुभाइप्रति आभार प्रकट गरेका छन् । 'सबैलाई धन्यवाद र नमस्कार सुनाइदिनु होला ।' उनले फोनमा भने, 'सबैको मनोकामना पूरा होस्, स्वस्थ रहनुहोस्, सबैको परिवारको स्वास्थ्य सधै सधै तन्दुरुस्त रहोस् ।'
Loading...
दुवै मिर्गौलामा खराबीपछि उनलाई जेठी दिदी होमकुमारी छन्त्यालको एउटा मिर्गौला प्रत्यारोपण गरिएको छ । आर्थिक अवस्था नाजुक भएका दुई दिदीभाइ एउटा एउटा मिर्गौलाले जीवन बाँडेका छन् । नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उनीहरु काठमाण्डौमै बस्नुपर्ने बाध्यता छ ।
होम कुमारीले प्राप्त रकम स्वास्थ्य परीक्षण र औषधी खरिदमा प्रयोग गर्ने बताइन् । यसअघि कोरिया, बेलायत, अमेरिका, कतार, जर्मनी, इजरायललगायतका देशबाट प्राप्त सहयोगबाट उनीहरुको अपरेशन गरिएको थियो ।