उत्तर कोरियालाई धम्की नदिन अमेरिकालाई चीनको चेतावनी

असोज १, वासिङटन : चीनले उत्तर कोरियामाथि धम्की नदिन अमेरिकासँग आग्रह गरेको छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले अमेरिकी सरकारसँग यस्तो आग्रह गरेका हुन् । हाल उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले कडा नाकाबन्दी लागू गरेको छ । 

यसले उत्तर कोरिया आफ्ना आणविक र क्षेप्यास्त्र परीक्षणबाट पछि हट्ने अमेरिकी बुझाइ छ । अमेरिकाले ल्याएको प्रस्तावमा राष्ट्रसंघले गत साता थुप्रै प्रतिबन्ध लागू गरेको थियो ।

त्यस प्रतिबन्धमा चीन र रूसले पनि समर्थन गरेका थिए । उत्तरको परीक्षणको उनीहरूले सामान्य विरोध गर्दै आएकोमा चीनको यस्तो कदमबाट प्योङयाङ एकलिएको अनुमान गरिएका थिए । आफूले अघि सारेको प्रस्तावमा रूस र चीन पनि सहमत भएको भन्दै अमेरिका र पश्चिमा शक्तिहरू खुसी भएका थिए । 

चीनले उत्तर कोरियाले परीक्षण नगर्नुपर्ने र अमेरिका एवं दक्षिण कोरियाबीच कोरियाली प्रायद्वीपमा चल्दै आएको संयुक्त सैन्य अभ्यास रोक्न माग गर्दै आएको थियो । यसैगरी चीनले कोरियामा स्थापित अमेरिकी उच्च सुरक्षा प्रणाली (थाड) पनि हटाउन भन्दै आएको छ ।

शुक्रबार चिनियाँ राजदूतले उत्तर कोरियामाथि थप धम्की नदिन अमेरिकालाई आग्रह गरेका थिए । शुक्रबार मात्रै उत्तर कोरियाले जापानमाथि क्षेप्यास्त्र परीक्षण गरेको थियो । राष्ट्रसंघीय नाकाबन्दीको विरोधमा आफूले थप परीक्षण गर्नुपरेको उसले स्पष्ट पारेको थियो । 

उच्चायुक्त कुईले सञ्चारमाध्यमसँग भने, ‘मलाई लाग्छ, अमेरिकाले यो समस्या सुल्झाउन प्रभावकारी कार्यक्रम गर्नुपर्छ । वार्ता गरेर समस्या समाधानमा जोड दिनुपर्छ, अब धम्की दिने काम बन्द गर्नुपर्छ ।' अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एवं पश्चिमा शक्तिहरूले चीनले प्योङयाङमाथि दबाब दिनुपर्ने बताउँदै आएका छन् ।

तत्काल कूटनीतिक र आर्थिक दबाब दिएर प्योङयाङका आणविक र क्षेप्यास्त्रसम्बन्धी काम रोक्न लगाउनुपर्ने उनीहरूको माग छ । सेप्टेम्बरको शुरुवातमा उत्तर कोरियासँग व्यापार गर्ने देशहरूसँग अमेरिकाले व्यापार नगर्ने धम्की दिएका थिए । कुईले त्यतिखेर यसको प्रतिवाद गरेका थिए । 

उनले ‘यस्तो बेतुकको कुरा नगर्न' अमेरिकालाई चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘चीन र अमेरिकाबीचको व्यापार नोक्सान पुर्‍याउन वा चीनमाथि प्रतिबन्ध लगाउन खोज्नु व्यर्थ हुनेछ । अधिकांश अमेरिकीले नै अमेरिकाको यस्तो नीतिको समर्थन गर्नेछैनन् ।'

अमेरिकी सैन्य शक्तिको बराबर भएको उनको दाबी 

सोल : उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य शक्तिमा आफू अमेरिका बराबर भएको बताएका छन् । अब अमेरिकाले ठूला आँखा देखाएर उत्तर कोरियालाई तर्साउने दिन सकिएको उनको कथन छ । उनले संयुक्त राष्ट्रसंघको प्रतिबन्धले आफूलाई नरोक्ने पनि स्पष्ट पारे । 

यस्ता प्रतिबन्धको बेवास्ता गर्दै पारमाणविक हतियार सम्बन्धी कार्यक्रम पूरा गरिछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफूहरूमाथि लगाइएका प्रतिबन्धले आफ्नो आणविक लक्ष्य नरोकिने उनको दाबी छ । आफूले वैज्ञानिकहरूलाई अमेरिकालाई जवाफी आक्रमण गर्ने आणविक हतियार बनाउन आदेश दिएको पनि उनले बताए ।

उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी कोरियन सेन्ट्रलले नेता उनको भनाइ उद्धृत यस्तो जानकारी दिएको छ । शुक्रबार उसले जापानमाथि क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यसकै भोलिपल्ट उनको यस्तो भनाइ आएको छ । उक्त क्षेप्यास्त्र करिब ३ हजार ७ सय किलोमिटर दूरी लक्षित गरी प्रशान्त महासागरमा प्रहार गरिएको थियो ।

उक्त ब्यालिस्टिक क्षेप्यास्त्र जमिनबाट प्रहार गरिएको सबैभन्दा लामो दूरीमा प्रहार गर्न सक्ने उत्तर कोरियाली क्षेप्यास्त्र भएको जानकारी दिइएको छ । उत्तरले यसअघि २९ अगस्तमा मध्यम दूरीको ह्वासाङ-१२ क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको थियो । 

समाचार एजेन्सीका अनुसार शुक्रबार गरिएको परीक्षणबाट नेता उन निकै सन्तुष्ट छन् । राष्ट्रसंघ सुरक्षा परिषद्ले उक्त परीक्षणको निन्दा गरेको छ । उत्तरले गरेको परीक्षणबाट क्षेत्रीय शान्ति एवं सुरक्षा भंग गरेको परिषद्को आरोप छ । राष्ट्रसंघका १९३ सदस्य राष्ट्रकै लागि प्योङयाङको कदम गम्भीर चिन्ताको कारण भएको बताइएको छ । - एजेन्सी