अख्तियारद्वारा १० हजार घुस लिँदै गर्दा मालपोतका हाकिम रंगेहात पक्राउ !

कोपिला कंडेल, बागलुङ, असोज २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बागलुङ मालपोत कार्यालयका हाकिमलाई घुस लिँदा लिँदै रंंगेहात पक्राउ गरेको छ । 

आज साढे चार बजेको समयमा मालपोत अधिकृत विश्वनाथ शर्मालाई निजकै कोठाबाट १० हजार रुपयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका सुचना अधिकृत रमेश ढकालले बताए ।

शर्माले सेवाग्राही संग घुस मागेपछि अख्तियार पोखरामा सुचना दिएपछि सोही सुचनाको आधारमा पक्राउ गरि पोखरा लगिएको अख्तियारले जनाएको छ ।

साबिक कालिका गाविस वडा नं २ को जग्गा राजिनामा पास गर्ने काममा मालपोत अधिकृत शर्माले रामरेखाका आचार्य थरका एक जनाबाट उक्त रकम घुस लिएको बुझिएको छ ।

नियन्त्रण लिईएका अधिकृत शर्माले मुचुल्कामा हस्ताक्षर गर्न इन्कार गरेपछी अन्य साक्षीको रोहवरमा मुचुल्का तयार गरी निज अधिकृत शर्मालाई लिएर अख्तियार टोली पोखरा हिँडिसकेको छ ।

अख्तिायारको टोली दुई दिन देखी बागलुङ सदरमुकाममा रहेको बताईएको छ । मालपोत कार्यालयका प्रमुख रंगेहात पक्राउ परेको यो बागलुङको पहिलो घटना हो ।