के तपाइलाई विश्वास लाग्छ, एउटा कुकुरले गरेको दिसाका लागि ३ जनाको ड्यूटी खटाइन्छ भनेको सुन्दा ? कुरा सांचो हो, जर्मनीको डुसेल्डोर्फ़ Hauptbahnhof (मुख्य रेल स्टेसन) मा आज ३ बजेतिरको कुरा हो l १३ र १४ नम्बर प्लेटफमबाट मुख्य बाटोमा ओर्लने रोलिंग (चढ़ेपछि गुडेर तल वा माथि पुरयाउने) भरयाङनेर एउटा कुकुरले दिसा गरेको रहेछ l जर्मनीमा एउटा पनि भुस्याहा कुकुर देखेको छैन मैले, तर महिला (कही कतै पुरुष पनि) हरु कुकुर र बिरालो मान्छेलाईभन्दा बढ़ी माया गरेर घरभित्र पाल्ने गर्दछन l यस्तै कसैले डोरयाएर ल्याएको कुकुरले यो दिसा गरेको हुनुपर्दछ l
म त नियमित 'S6' (रेलगाड़ी नम्बर) को प्यासेन्जर l गाड़ी १३ नम्बरमा रोकिन्छ, आज पनि यात्रा थियो ओभरकास्सेल(ठाउंको नाम) सम्मको l 'एस जेक्स' बाट ओर्लेर U-Bahn (जमिन तल तल गुड़ने रेल) चढनुपर्ने l हतार हतार रोलिंग भरयाङमा जान्छु भनेको, ३ जना Deutsche Bahn (DB) 'जर्मन यातायात'का कर्मचारीहरूले बाटो छेकेर 'कृपया बिस्तारै जानुस' भन्दै रहेछन l मलाई चासो पस्यो किन रहेछ बाटो छेकेको भनेर ? यसो नियालेर हेरेको घिनलाग्दोगरी छेरेको रहेछ कुकुरले दुई ठाउंमा छ्यालब्याल पारेर l DB का कर्मचारीहरू त्यही दिशा प्यासेन्जरको खुट्टामा लाग्ला कि भनेर जोगाउन खटिएका रहेछन त्यहाँ l मैले सोचे 'कति नागरिकप्रति जिम्मेवार सरकार, दिसा नागरिकहरुको जुत्तामा लाग्छ भनेर ३ जनालाई ड्यूटीमा खटाउने..!' मेरो देशका कर्मचारी भए दिसा देखी मुख छोपेर घिनाउदै टाढा बसेर राम हेर्थे होला - कोही पासोमा पर्छ कि भनेर l आफू Auslander (बाहिर देशको) भए पनि मनमनै डुस्सेलडोर्फ राज्यलाई आभार प्रकट गरे र कामना गरे - 'मेरो देशमा पनि यस्तो सिस्टम बनोस सकेसम्म छिटो, जहाँ नागरिक हितका लागि सरकार सधै उत्तरदायी र जिम्मेवार बनोस l'
पछि एउटा Deutsche (जर्मन) केटीलाई सोधे मैले - 'किन यिनीहरु यसरी एउटा कुकुरको दिसाबाट नागरिकलाई जोगाउंनलाई यत्तिका धेरै मानवीय स्रोतको परिचालन गरेका होलान ? छिट्टै किन सफा नगरेका होलान ?' उनी पनि जान्ने खालकी रहिछन र भनिन - 'कहाँ हेर्नुस न, यहाँ सफा गर्नेहरु कतै अरु काममा व्यस्त भएको हुनुपर्छ l उनीहरु आए मात्र सफा गर्छन l यिनीहरुसंग सफा गर्ने सामान पनि त हुन्न l आ-आफ्नो काम हुन्छ नि त l ' मैले भने - 'मेरो देशमा त यस्तो फोहोर भयो भने प्यासेन्जर आफै जोगिएर हिडनुपर्छ .....' मेरो कुरा काट्दै उनले भनिन - 'यहाँ पनि त्यस्तो गर्न सक्छन तर कोही त्यहाँ लड्यो र चोटपटक लाग्यो भने DB ले उपचार खर्च व्यहोर्नुपर्दछ, मतलब कुनै घटना भएमा DB नै जिम्मेवार हुनुपर्दछ l' म फेरि सोच्न थाले यस्ता असल कुरा सिको गरोस मेरो देशले !