दुर्घटित सपनाहरु र गणतन्त्र

कविता 
- हरिशरण परियार

बतासे गाउँको एक पाखे
छाप्रोभित्र बसेर
अम्तानाबिनै
तीखो सियोले
तुनिरहेछन्
बिर्खे दमाई
एकजोर राता ब्लाउज र पेटीकोट

आफ्नै फोक्सोजत्रो
खलाँतीभित्र
एक मुठ्ठी स्वास भरेर
अछूत पुर्पुरो पुछ्दै
कुँदिरहेछन्
कान्छा कामी
एक थान बहादुर खुकुरी

खिया लागेको हँसियाजस्तै
मक्किएको बांगो ढाड लिएर
भोको आन्द्रा भर्ने सपना बोक्दै
जोतिरहेछन्
लुरे सार्की
साहुको एक हल अधियाँ खेत

आफ्नै भगवानको प्रतिविम्ब
आँसुले पखालेर
बासी आँखाभरि
कुमारी सपना सँगाल्दै
लिलाम गरिरहेकी छिन्
फूलकुमारी बादी
आफ्नै पतिव्रता धर्म

आफ्नी प्यारी मुनाको सिउँदो
एक्काइसौं बसन्तको
मायालु रङ्गले भरेर
सुहागरातको अभागी खाट चिस्याउँदै
उडिरहेछन्
मदन दाइ
रापिलो सपनाको भोट

तर,
हे राजधानी !
तिमी, खै कसलाई साक्षी राखेर
मनाइरहेछौ
सातौं गणतन्त्र दिवस
सहिदहरुको छातीजस्तो
सपाट टुँडिखेलभरि ?