प्रवेशिका परीक्षा देशभर सुरू, एसिड पीडितदेखि नेताकी श्रीमतिसम्म सहभागी

काठमाडौँ, ५ चैत्र - माध्यमिक शिक्षाको अन्तिम खुड्किलो मानिने प्रवेशिका परीक्षा बिहीबाराट देशभर सुरू भएको छ । काठमाडौँ उपत्यकालगायत देशका सबै जिल्लामा एकै साथ परीक्षा गरिने हरेक वर्षको व्यवस्थाअनुरुप यस वर्ष नियमित र पुनःपरीक्षातर्फका गरी पाँच लाख ७४ हजार ६८५ परीक्षार्थीले आवेदन दिएका छन्।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले हालसम्म सबै स्थानमा शान्तिपूर्ण र मर्यादितरूपमा परीक्षा सञ्चालन भएको जानकारी दिए । सरकारले पाँच वर्ष पहिले कक्षा १२ लाई माध्यमिक शिक्षाको अन्तिम खुड्किलो मानी सो तहबाट प्रवेशिका परीक्षा दिलाउन एकीकृत परीक्षा बोर्ड गठन गर्ने नीति लिए पनि शिक्षा ऐनमा संशोधन नभएका कारण कक्षा १० को प्रवेशिका परीक्षाले निरन्तरता पाएको हो । 

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परीक्षाका लागि देशैभर परीक्षा केन्द्र, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, कर्मचारी र सुरक्षाकर्मी खटाएको छ । कार्यालयका अनुसार २७ हजार ९३० सुरक्षाकर्मी, एक हजार ८६२ केन्द्राध्यक्ष, दुई हजार ४४० सहायक केन्द्राध्यक्ष, २३ हजार १४ निरीक्षक र सात हजार ६९९ कार्यालय सहायक परिचालन भएका छन् ।

कार्यालयले परीक्षामा हुने अनियमितता निरुत्साहनका लागि यस वर्षदेखि प्रश्नपत्रमा विद्यार्थीले क्रम सङ्ख्या लेख्नुपर्ने व्यवस्था गरेको छ । परीक्षा सकिएको एक साताभित्र परीक्षार्थीको सम्पूर्ण विवरण बेवसाइटमा राखिनेछ । यसबाट परिणाम त्रुटिपूर्ण हुन सहयोग मिल्ने अनुमान गरिएको छ ।

तेजाबपीडित अस्पतालबाटै

यस वर्षदेखि दृष्टिविहीन परीक्षार्थीका लागि कक्षा ९ मा अध्ययनरत व्यक्तिलाई सहयोगीका रूपमा राख्न पाउने व्यवस्था गरिएको छ । गत फागुन १० गते वसन्तपुर एक ट्युसन सेन्टरमा अज्ञात व्यक्तिको तेजाब प्रहारका कारण घाइते भएका दुई छात्रालाई सरकारले उपचाररतस्थल अस्पतालमै परीक्षा दिलाउने व्यवस्था गरेको छ । कान्ति ईश्वरीराज्यलक्ष्मी माविका सङ्गीता मगर र सीमा बस्नेत नामका ती विद्यार्थी काठमाडौँ मेडिकल कलेज र वीर अस्पतालमा उपचाररत छन् ।

वैद्यकी श्रीमती पनि

परीक्षामा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यकी श्रीमती पनि सामेल भएकी छिन् । वैद्यकी श्रीमती अन्ठाउन्न वर्षीया सुष्मा वैद्यले चेतना महिला विद्यालय, गँगबुको परीक्षार्थीका रुपमा टोखास्थित मनोहर उमावि परीक्षा केन्दमा परीक्षा दिएकी मनोहर माविका शिक्षक सुनिता सिलवालले बताइन ।यस्तै भक्तपुरको आदर्श स्कुल, सानोठिमीस्थित आस्था महिला विद्यालय, गठ्ठाघरबाट ४५ वर्षीय मायादेवी हमालसहित १९ महिलाले परीक्षा दिएकी छिन ।

सहसचिव अनुगमनमा

परीक्षाको केन्द्रीय अनुगमनका लागि शिक्षा मन्त्रालयले १४ वटै अञ्चलमा एक एक सहसचिवको नेतृत्वमा टोली खटाएको छ । मन्त्रालयका प्रवक्ता हरि लम्सालले कतिपय सहसचिव जिल्ला पुगिसकेको र केही जाने क्रममा रहेको जानकारी दिए । सहसचिवका अतिरिक्त सम्बन्धित पाँच विकास क्षेत्रका क्षेत्रीय शिक्षा निर्देशक पनि अनुगमनमा खटिएका छन् ।
अनुगमनका लागि राप्तीको दाङ पुगेका सहसचिव लवदेव अवस्थीले हालसम्म परीक्षा शान्तिपूर्ण र मर्यादित रहेको पाइएको बताए । परीक्षा यही चैत १६ गतेसम्म सञ्चालन हुनेछ । - रासस