किन इजरायल जानबाट बञ्चित भए नेपाली कामदार ?

काठमाडौं, ५ चैत । नेपाली कामदार लिन इजरायल तयार भए पनि दुई देशबीच मोडालिटीमा सहमति हुन नसक्दा कामदार जानबाट बञ्चित भएका छन् ।

कामदार लिने र पठाउने विषयमा ६ महिनाअघि नै सहमति भए पनि कसरी पठाउँने भनेर मोडालिटीमा अहिलेसम्म सहमतिमा पुग्न नसक्दा जाने प्रतिक्षामा रहेकाहरु निराश हुन थालेको खबर बुधबारको अन्नपूर्ण पोष्टमा छापिएको छ।

इजरायलले सुरुमा पाइलट प्रोजेक्टअन्तर्गत तीन सयजना नेपाली कामदार लिन लागेको हो । यसका लागि उसले विभिन्न सर्त अघि सारेको छ ।

कामदार आदानप्रदान प्रक्रिया र मोडालिटीका सम्बन्धमा सहमति कायम गर्न दुई देशबीच चारपटकसम्म मस्यौदामा छलफल र परिमार्जन समेत भइसकेको छ । दुई देशले इमेल तथा चिठीमार्फत सुरुमा बनाएको मस्यौदामा संशोधन गरिसकेका छन् । तर, अहिलेसम्म निचोडमा भने पुग्न नसकिको सम्बद्ध अधिकारीले जनाएका छन् ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले कामदा पठाउने मोडालिटीको मस्यौदामा धेरैपटक छलफल पत्र आदानप्रदान भए पनि सहमति हुन बाँकी रहेको बताए ।