घरको दुःख हटाउन विदेश गएकी सरिता कहाँ हराइन्

माघ २१ - छोरी सरिताले पैसा कमाएर पठाउछु है बा भन्दै मुस्सुक हाँसेर बिदा भएको सम्झिँदा सिन्धुली भद्रकाली-४ कुसुमटारका मान बहादुर तामाङका आँखा रसाउँछन् । 

सरिता घरको दुःख हटाउँछु भन्दै विदेश हिँडेको चार वर्ष भयो तर घरको दुःख उस्तै छ । मानबहादुरलाई दिनभरीको ज्याला मजदुरीले छोडेको छैन । घरमा बिहान बेलुकीको छाक टार्ने समस्या त थियो नै अहिले त मानबहादुरलाई अर्को पीर पनि थपियो सरिता विदेशमै हराएपछि । 

त्यतिबेला सरिताकी बहिनी शुशिला काठमाडौंमा बस्नुहुन्थ्यो । शुशिलाकी साथी थिइन् शिला । शिलाको घर कहाँ हो शुशिलालाई अहिले पनि थाहा छैन । शिलाले सुशिलालाई आफ्नो घर सुर्खेत भनेकी थिइन । ‘त्यसको केही दिनमै शिलाले मलाई म त विदेश जान आँटेको तिमी पनि जान्छौ भने मेरो दाईलाई भन भनेकी थिइन’ शुशिलाले भन्नुभयो । अब शुशिलाको कुरा शिलाको दाईसँग हुन थाल्यो । 

फोनमा गफ बाक्लिएको थियो । तर शुशिलाले शिलाको दाइलाई देख्नुभएको थिएन । त्यतिकैमा उसले तिम्रो घर सिन्धुली जाने भन्दै ठेगाना मागे । शुशिलालाई भेट्दै नभेटी गाउँ पुगेका शिलाका दाइलाई लिन दिदी सरिता र दाइ सिन्धुली बजारमै पुगे । त्यसपछि शुशिलाको माध्यमबाट सिन्धुली पुगेका शिलाका दाइ उहाँसँगभन्दा दिदी सरितासँग नजिक भए ।

‘दूईचार दिनको घुलमिलले दिदी र गाँउको अरु दुई जना दिदीलाई विदेश जान राजी बनाएछ’ शुशिला भन्नुहुन्छ, ‘त्यो कुरा दिदी पासपोर्ट बनाउन भन्दै काडमाडौं आउँदा मात्रै थाहा पाएँ ।’ शुशिला  गाउँका दिदीहरुमा विदेश जान लागेकोमा चासो र चिन्ताभन्दा पनि १० हजार रुपैयाँमै विदेश जान पाइने भयो भन्ने खुसी थियो भन्नुहुन्छ । 

त्यसको एक महिनापछि दिदीहरु भारतको बाटो हुँदै साउदी अरेविया पुगेको थाहा पाउनुभयो शुशिलाले । सरिता विदेश गएपछि उहाँलाई पठाउने शिलाको दाइको कुनै अत्तोपत्तो भएन । त्यसैले सरितासँगै विदेश गएका गाउँका अरु दुई जनाका परिवारले ढाँटेर विदेश पठाएको भन्दै उहाँ शुशिलालाई प्रहरीको जिम्मा लगाए ।

‘मैले १६ महिना जेलमा बस्नुपर्‍यो’ शुशिला भन्नुहुन्छ, ‘न अहिले शिला नै सम्पर्कमा छन् नत उसको सुर्खेतको दाइ भन्ने मान्छे नै’ शुशिला जेलबाट निस्किँदा सरिताले घरमा दुई पटक पैसा पठाइसक्नुभएको थियो । तर त्यतिञ्जेलसम्म दिदी बहिनीको गफ हुन पाएको थिएन । दोस्रो पटक पैसा पठाएपछि फोन गर्दा साहुनीको माइत जान लागेको भनेकी सरिता त्यसपछि सम्पर्क बिहीन भएपछि उहाँको परिवार चिन्तामा परेको छ ।

सरितासँगै गएका गाउँका दुई जना फर्किए तर उहाँको अहिलेसम्म अत्तोपत्तो छैन । ‘जाँदा सँगै गएर फर्किएकाहरुले उहाँ पुगेपछि कता पुर्‍यायो पुर्‍यायो भने’ सरिताका बुवा मानबहादुरले भन्नुभयो । लाँदा स्कुलको काम भनेर लगिएकी सरितालाई घरमा काम लगाएको र पठाउने व्यक्ति पनि बेपत्ता भएपछि उहाँको परिवारलाई कहाँ खोज्ने अनि के भनेर खोज्ने भन्ने रनभुल्ल भएको छ । 

धेरै प्रयास गर्दा पनि सम्पर्क गर्न नसकेका सरिताका परिवार अहिले सरिताका बारेमा सोधीखोजी गर्न पुग्ने जो कोहीसँग भन्छन ‘छोरी कहाँ छेउ हामी तिम्रो बाटो हेरिरहेका छौं ’ भन्ने खबर पुर्‍याइदिनुहोला । 
- उज्यालो