२१ माघ, क्वालालम्पुर । मलेसियाको जोहरबारुमा रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेका एक नेपालीलाई अग्नि नियन्त्रकहरुले बचाएका छन् ।
पीडित नेपाली नागरिक भएको र उनी २० वर्षको भएको खुलेको छ । उनले ७.६२ मिटर अग्लो कटहरको रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेका थिए ।
सर्वसाधारणले खबर गरेपछि जोहरबारु फायर स्टेशनबाट टोली पुगेको थियो । अग्नि नियन्त्रकको टोली पुग्दा युवक अर्धनग्न अवस्थामा रुखको टुप्पोमा थिए ।
अग्नि नियन्त्रकहरुले तत्काल भूईमा एयर कुशन विच्छ्याए र रुखको टुप्पोमा रहेका युवकलाई पानीको पोहोरा हानेर कुशनमाथि खसाइयो ।
नेपाली युवकको उद्धारका लागि १४ जना अग्नि नियन्त्रक खटिएका थिए र, उनीहरुलाई झण्डै एक घन्टा लागेको थियो ।
जोहरबारु फायर स्टेशनका प्रवक्ताले आत्महत्या गर्न खोज्ने नेपाली युवक मानसिक सन्तुलन गुमाएको हुन सक्ने बताए ।
- अनलाइनखबर

