सिंहदरबारभित्रै ‘विप्लव’ माओवादीद्वारा कार्यकारी निर्देशक सुशील ज्ञवालीलाई चेतावनी

काठमाडौं, ९ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीलाई ज्ञापनपत्र बुझाएर पुनर्निर्माणमा भएको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा माओवादीका पोलिट ब्यूरो सदस्य एवम् उपत्यका व्यूरो इञ्चार्ज सन्तोष बुढा मगरको नेतृत्वमा बिहीबार प्राधिकरणको मुख्यालय सिंहदरबारभित्र पुगेको जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले कार्यकारी ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो ।

‘भूकम्प पुनर्निर्माणमा सरकारले खेलवाड गरिरहेको सबैले महसुस गरेका छन्’, उहाँले भन्नुभयो, ‘प्राधिकरणलाई आएको अनुदानमा अनियमितता भए हाम्रो पार्टी चुप लागेर बस्ने छैन ।’

भूकम्प पुनर्निर्माण प्राधिकरणले काम गर्न नसकेको भन्दै जनतालाई काम गरेर देखाउन दबाब दिने उदेश्यले ज्ञापनपत्र बुझाइएको उपत्यका व्यूरो इञ्चार्ज बुढाले जानकारी दिनुभयो ।

इञ्चार्ज बुढाका अनुसार भूकम्पबाट प्रभावित जिल्लाहरूको पुनर्निर्माणमा ढिलाइ भएको र पीडितहरूका लागि व्यवस्थित आवासका लागि माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।

ज्ञापनपत्रमा पुनर्निर्माण्का लागि आएको वैदेशिक अनुदानलाई पारदर्शी बनाइनुपर्ने, भूकम्पपीडितहरूलाई निशुल्क शिक्षा, स्वास्थ्य सेवा, घरबहाल भत्ता, रोजगारीको व्यवस्था, राहतमा भ्रष्टाचार, कालोबजारी गर्नेलाई कडा कारबाही, विनाधितो शून्य व्याजमा ऋण, खानेपानी र सरसफाइको उचित व्यवस्था, २०७२ साल पुस १० गते प्राधिकरणको प्रमुख अधिकृत नियुक्त भए यता पुनर्निर्माणको काममा ढिलाई हुँदै गएको भन्दै द्रूत गतिमा पुनर्निर्माणको काम अगाडि बढाउन माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउन राजु कार्की, रत्नबहादुर मस्र्याङदी मगर, पूर्णबहादुर श्रेष्ठ, हीरा शाही, उद्धव पौडेल, दुर्गाप्रसाद अधिकारी, नोर्बु लामा, सुशील बलम्पाखी, ताराबहादुर कटुवाल, झनक श्रेष्ठ र गणेश केसी सिंहदरबारस्थित पुनर्निर्माण प्राधिकरणको मुख्यालयमा पुगेका थिए ।
- दैनिक नेपाल