११ असार, काठमाडौं । भद्र सहमतिको चर्चा सेलाएपनि शान्ति प्रक्रियाको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्ध पुनः धरापमा परेको छ ।
अन्तिम समयमा आएर अष्ट्रेलियाको भ्रमण स्थिगित गरेका प्रचण्डले केन्द्रीय कार्यालयको बैठकमा ओली नेतृत्वको सरकारसँग सहकार्य लामो समयसम्म जान नसक्ने बताएका छन् । प्रचण्डको भनाई उदृत गर्दै केन्द्रीय कार्यालयका एक नेताले भने,‘राम्रो कामको जस ओलीले एक्लै लिने र नराम्रो कामको अपजस मात्र अरुलाई दिने काम गर्दै आएका छन् । भद्र सहमति पनि तोड्ने काम गरेर दिउसै रात पार्ने काम भयो ।’
प्रचण्डले आफ्नै समर्थनमा बसेको सरकारले आफ्नो पार्टीले भने नमानेको स्मरण गराउदै बैठकमा सरकारको विकल्प खोज्ने काम पुनः अगाडि बढाइएको जानकारी गराएका छन् ।
द्धन्द्धकालिन घटनासँग जोडेर रातारात भ्रम फैलाउने काम गर्दा पनि शान्ति प्रक्रियाको काम अगाडि बढाउन ओली गम्भीर नभएको बताउदै प्रचण्डले माओवादीहरुलाई योजनाबद्ध सिध्याउन पुनः चलखेल सुरु भएको बताएका थिए ।
भ्रमण स्थगित गरे लगत्तै कांग्रेसले पुननिर्माणको विषयलाई लिएर संसदमा अबरोध गरेको छ भने प्रचण्ड कांग्रेसका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् ।
- नेपाली हेडलाइन्स