डनका नाइके मन्त्री बनेपछि…

काठमाण्डौ,  २७ भदौ । सिंचाई मन्त्री दीपक गिरीले दाङका सर्वसाधारणलाई ‘म पनि गुन्डा हुँ’ भन्दै धम्क्याएको अडियो हालै सार्वजनिक भएको छ । मन्त्रीले नै आफूलाई गुन्डा हुँ भन्दै जिल्लावासीलाई थर्काएको घटना सार्वजनिक हुँदा पनि नेपाली कांग्रेसले यस विषयमा केही बोलेको छैन ।

किनकी नेपाली कांग्रेसमा गिरीजस्तै गुन्डागर्दी पृष्ठभूमिका नेताहरुको बोलवाला छ । वनमन्त्री बनाइएका शंकर भण्डारी यसका अर्का उदाहरण हुन् ।

भण्डारीलाई प्रहरी अधिकारीहरु गुन्डाहरुको ‘एजेन्ट’का रुपमा चिन्दछन् । जो गुन्डाहरु पक्राउ पर्दा सँधै छुटाउन आफैं जाने गर्दथे । कतिपय प्रहरीलाई गुन्डासँग् सेटिङ मिलाउने काम समेत गर्दथे ।

उनले घुस्याहा प्रहरीहरुसँग मिलेर पक्राउ गराउने र छुटाउने धन्दा गर्दै आएका थिए । दरबारमार्गका होटल÷रेष्टुराँमा उनी देशका चर्चित गुन्डाहरु वरिपरि राखेर बस्ने गर्दथे ।

नेपाली कांग्रेस मात्र होइन सबै पार्टीका गुन्डाहरुको उनी संरक्षक थिए । प्रहरीको दलालबाटै उनले प्रशस्त पैसा कमाए । त्यस्ता व्यक्ति अहिलेको सरकारको महत्वपूर्ण मन्त्रालय सम्हाल्ने मन्त्री भएका छन् ।

सबै जिल्लामा नेटवर्क भएको वन मन्त्रालय सम्हालेपछि मन्त्री भण्डारीले असुली धन्दा सुरु गरिसकेका छन् । वन मन्त्रालयमा भ्रष्ट सहसचिवका रुपमा चिनिएका कृष्णप्रसाद आचार्यलाई उनले वन विभागको महानिर्देशक बनाएका छन् ।

आचार्य करोडौं खर्च गरेर वन विभागको महानिर्देशक भएको स्रोत बनाउँछ ।

अन्य एक दर्जन सहसचिवहरु महानिर्देशक बन्ने दौडधुपमा थिए । तर, आचार्यमार्फत् आफूले चाहेअनुसार डिएफओ तथा रेञ्जरहरुको सरुवा गर्न सक्ने र तस्करीको लाइन खुलाउन सकिने भएपछि उनी मन्त्री भण्डारीको रोजाइमा परेका हुन् ।

डिएफओहरुको सरुवामा पनि असुली हुने गरेको छ । तराईका जिल्लाको डिएफओ बन्न कर्मचारीहरुबीच टेन्डर नै चल्ने गरेको छ । मन्त्री निकटका व्यक्तिहरुले सरुवाको लागि पैसा उठाउन थालिसकेका छन् ।

अर्कोतर्फ झ्याउ व्यवसायीहरु भने फेरि झ्याउ संकलन र निकासीलाई खुलाउने लबिङमा लागेका छन् । जसका लागि मन्त्री भण्डारीले ग्रिन सिंग्नल दिइसकेका छन् ।

खुमबहादुर खड्काको सिफारिसमा मन्त्री भएका भण्डारी पैसा उठाउने मामिलामा खुमबहादुरभन्दा अगाडि रहेको कांग्रेस नेताहरु बताउँछन् । दृष्टि साप्ताहिकमा खबर छ ।